बालेन शाह ‘एक्सन’मा : कसले के भने ?

केही दिनयता काठमाडौं महानगरपालिकाले काठमाडौँ महानगरका अनाधिकृत संरचना हटाउने क्रम जारी राखेको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह नेतृत्वको महानगरको टोली यस कार्यमा सक्रिय हुँदै आएका छन् । गत हप्तादेखि एक्सनमा उत्रिएका काठमाडौँ महानगरका मेयर बालेन काठमाडौँ महानगरमा रहेका अनधिकृत संरचना हटाउँदै आएका हुन् ।

मेयर शाहको उपस्थितिमा डोजरसहितको टोलीले पछिल्ला केही दिनयता काठमाडौं महानगरभित्र अवैध र अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो । पहिलो पटक नर्भिक इन्टरनेशनल अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर एक रोपनी आठ आना जग्गामा सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको खुलासा भएपछि काठमाडौँ महानगरपालिकाका मेयर शाहले घर टहरा हटाउन अस्पताललाई निर्देशन दिँदै नहटाए नियमअनुसार कारवही गर्ने चेतावनी दिएका थिए । त्यसपछि काठमाडौं महानगरपालिकाका मेयर शाह नेतृत्व डोजरसहितको टोलीले अनधकिृत रुपमा नक्सा पासभन्दा बाहिर गएर बनाएका संरचना भत्काउन आरम्भ गरेका हुन् । काठमाडौं महानगरसहित उक्त कार्यमा नेपाल प्रहरीको टोली पनि खटिएका छन् ।



काठमाडौं महानगरपालिकाले पहिलोपटक सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्समा डोजर चलाइएको थियो । यस कार्यमा उनको समर्थन र विरोध पनि त्यतिकै हुँदै आएका छन् तर पनि मेयर शाह यसको पर्वाह नगरी निरन्तर महानगरभित्र रहेका अनधिकृत संरचनाहरे हटाउँदै आएका छन् । मेयर शाहको यस्तो कार्यप्रति सत्तापक्ष र प्रतिपक्ष दल नै विरोध गर्दै आएका छन् ।

कसले के भने ?
रामकुमारी झाँक्री : पूर्व सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्रीले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई आफ्नो समर्थन रहेको बताएकी छन् । उनले गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै बालेनको कार्यप्रति आफ्नो समर्थन रहेको बताएकी हुन् ।

झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूची पनि प्रस्तुत गरेकी छिन् ।झाँक्रीले लेखेकी छिन्, ‘मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन । म सधैँ तपाईंसँग हुनेछ । अहिले गरिरहेको काम गर्दै जानुहोला । इमानदार प्रयासहरू सफल हुन्छन् ।’

त्यस्तै उनले आफूले मन्त्री हुँदा काठमाडौंका नदी किनारा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरू भए पनि राजनीतिक दबाबका कारण रोकिएको बताएकी छन् । झाँक्रीले आफू मन्त्री रहँदा मेयर शाहसँग बसेर केही योजना बनाएको स्मरण पनि गरेकी छिन् ।

मीनबहादुर विश्वकर्मा : नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यलाई अराजक गतिविधिको संज्ञा दिएका छन् ।

विश्वकर्माले काठमाडौँ महानगरका अनाधिकृत संरचना हटाउने मेयर शाहको यस्तो कार्य अराजक गतिविधिको बढावा दिइरहेको टिप्पणी गरेका छन् । राजधानी आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले मेयर शाहले अनधिकृत रुपमा बनाएका भौतिक संरचनाहरु डोजर लगाएर भत्काएको भन्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर साहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको बताए ।

त्यस्तै नेता विश्वकर्मा मेयर शाहको यस्तो गतिविधिले अराजकतालाई बढावा दिएको भन्दै गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गरे । उनले मेयर शाहको कार्यप्रति विरोध जनाउँदै गल्ती गर्नेहरुलाई बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको बताए । यस्तै उनले यस्तो गतिविधिले आफूहरुको राजनीतिक प्रणालीमाथि नै आघात पुर्याउने बताए ।

महेश बस्नेत : त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरभित्र रहेका अनाधिकृत संरचना हटाउने क्रममा डोजर चलाएको आपत्ति जनाएका छन् । शनिवार भक्तपुरमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेता बस्नेतले मेयर शाहको यस गतिविधिबाट धेरै पीडित भएको बताए । उनले मेयर शाहलाई धेरै खरानी घस्ने जोगीको संज्ञा दिएका छन् । ‘हामीसँग २० औं बर्षको अनुभव छ । नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, यिनीहरुले बढी खरानी घस्ने कुरा ठीकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने विकासको मोडालिटीको बारेमा हाम्रा अनुभवहरु शेयर गरौंला । हैन भने तोडेर फोडेर जनताका पुर्ख्यौली सम्पत्तिहरु, वर्षौदेखि दुःख गरेर कमाएर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका हाम्रा घरहरु भत्काउने तिम्रो कुनै तागत छैन । तिमीलाई कुनै अधिकार छैन’ बस्नेतले भने ।

आफू जहिले पनि न्यायको पक्षमा, व्यवसायीको पक्षमा, स्थानीय रैथानेको पक्षमा बोल्ने भन्दै बस्नेतले यदि यस्तो बोल्दा बालेनका समर्थकहरु लड्न आए आफू, आफ्नो टिम र पार्टी काफी रहेको भन्दै चेतावनी समेत दिए ।

उपमेयर सुनिता डङ्गोल : यस्तै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी छिन् । आइतबार एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी हुन् । उपमेयर डङ्गोलले काठमाडौँ महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डा रहेको उल्लेख गर्दै त्यसबारे आफू सचेत रहेको स्मरण गराएकी छिन् ।

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्शा स्वीकृति गर्दा भूइँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाइपछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिँदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपप्रमुखको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छुु’ डङ्गोलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

कमल थापा : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को प्रशंसा गरेका छन् । गत बिहीबार एक ट्विट गर्दै उनले बालेनको प्रशंसा गरेका हुन् ।

थापाले काठमाडौँ महानगरपालिका भित्र बनेका अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र शाहको प्रयास प्रशंसनीय रहेको ट्विटरमा उल्लेख गरेका छन् । काठमाडौँ महानगरका मेयर बालेनले उपत्यका भित्र बनेका अवैध संरचना भत्काई रहेका छन् । त्यस्तै शाहको कार्यले तत्काल केही असुविधा भएपनि दिर्घकालमा सबैलाई फाइदा हुने थापाले बताएका छन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाण्डौलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर @ShahBalenको प्रयास प्रशंसनीय छ । तत्काल केही असुविधा भएपनि यसले दिर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं ।Well done Balen! Keep it up 👍’

अनाधिकृत संरचना हटाएको विषयमा यसो भन्छन् बालेन शाह
काठमाडौं महानगरपालिका प्रमख बालेन्द्र साहले महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनाधिकृत संरचना हटाएको बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले ‘मिचाहा वर्ग’लाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने प्रतिवद्धता जनाएका छन् ।

कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले अहिले भयावहको अवस्था सृजना भएको उनले बताए । ‘आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन भन्ने हाम्रो दृढ मान्यता छ । कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइँ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार