मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले भदौ १३ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि राजपत्राङ्कित अधिकृत तहका ४सय ३१ पदहरूका र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत विभिन्न श्रेणी समूहका १०५ अस्थायी दरबन्दी स्वीकृत गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय

आर्थिक वर्ष २०७९/०८० का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका आयोजनाहरुका लागि राजपत्राङ्कित स्तरका २८ र सातौँ तहका २ गरी जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

आर्थिक वर्ष २०७९/०८० को लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरुको लागि ५० राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्राङ्कित श्रेणीको ४७ अस्थायी दरबन्दी पनि स्वीकृत गर्ने निर्णय

आगामी भदौ २४ देखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३ औँ बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिने निर्णय

जि टू जि प्रावधानअन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारीपत्रमा भएको व्यवस्था बमोजिम मल खरिद गर्न समझदारीपत्रको बाँकी अवधिको लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय

आगामी असोज ४ र ५ गते मुस्ताङ जिल्लामा हुने अन्तर्राष्ट्रिय पर्वतीय दिगो विकास वर्ष मुस्ताङ समिटमा विभिन्न चार वटा मुलुकका मन्त्रीहरुलाई आमन्त्रण गर्न स्वीकृति दिने निर्णय

असोज १० गतेदेखि १४ गते अमेरिकामा सञ्चालन हुने द ग्लोवल मिथेन, क्लाइमेट एण्ड क्लिन एयर फोरम कार्यक्रममा भाग लिन वन तथा वातावरण मन्त्रीलाई स्वीकृति दिने निर्णय

चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका परियोजना, कार्यक्रम र समितिहरुका लागि राजपत्रांकित श्रेणीका १०५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

जिल्ला सभा प्युठानको नाममा रहेको साविक बरौला गा.वि.स. वडा नं. ८ को १० रोपनी जग्गा ऐरावती गाउँपालिका प्युठानको नाममा हक हस्तान्तरणको लागि स्वीकृति दिने निर्णय

 

सम्बन्धित समाचार