नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ समन्वय समितिले दुहवीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
उनले निर्वाचनमा धाँधलीविरुद्ध गड्यौला जस्तो नभई दुई वटा दाँत भएको जस्तो भएर डस्न तयार हुनुपर्ने बताए । गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘एमालेका नेता कार्यकर्ता गड्यौलाजस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नुपर्छ ।’
सुनसरीको क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग निकाल्दै ओलीले मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष र धाँधली रहित गराउन राज्य र प्रशासनले स्वतन्त्र रुपमा काम गर्नुपर्ने बताए । उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा
गराइएको दाबी गरे ।
‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईँहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईँहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायतका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु,’ ओलीले भने ।
उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए । त्यस्तै कार्यक्रममा बोल्दै नेतृ चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र समृद्धिको लागि नेकपा एमालेलाई जिताउनु पर्ने बताइन् । यस्तै ओलीले उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए । उनले मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने दाबी गरे । कार्यक्रममा दुई हजार बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष केपी ओली, नेतृ चौधरीलगायतले स्वागत गरेका थिए ।