निलम्बित प्रधानन्यायाधीश जबरासँग महाअभियोग सिफारिस समितिले आज पनि बयान लिँदै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज (आइतबार) पनि बयान लिँदै छ । आज बस्ने समितिको बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो ।

यसअघि गत बुधबार र बिहीबार पनि समितिले जबराको बयान लिएको थियो । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो । १५ र १६ गते दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका छन् । बयानका क्रममा जबराले महाभियोग निष्क्रिय भइसकेको भन्दै आफुमाथि प्रतिशोधका आधारमा महाअभियोग लगाइएको बताएका छन् ।



प्रश्नहरू लामो भएकाले समय लागेको समितिले बताएको छ। गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

महाअभियोग सिफारिस समितिमा नेपाली काँग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल रहेका छन् ।

 

सम्बन्धित समाचार