नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ४५० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २३० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८३ हजार ३३३ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ५२८ रहेको छ । जसमध्ये २ हजार ३८५ जना होम आइसोलेसनमा छन् भने १४३ जना संस्थागत आइसोलेसनमा, ३८ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९७ हजार ८६८ र एन्टिजेन विधिबाट १ लाख ५० हजार ९०७ जना पुगेको छ ।