नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठकले कार्यदलका सदस्यहरुलाई दुई दिन भित्र निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न निर्देशन दिएका छन् । आइताबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार सिट बाँडफाँडको विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि बैठकले शीर्ष नेताहरुले कार्यदललाई जिम्मेवारी दिएका छन् । बैठकले कार्यदल बैठक लगातार बसेर दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले सोमबार र मंगलबार बस्ने कार्यदलको बैठकले सिट बाँडफाँटको विषयमा टुंगो लगाउने बताए । कार्कीले न्यायोचित र सम्मानजनक तरिकाबाट सिट बाँडफाँट हुने प्रष्ट पारे । कार्यदलको बैठक सोमबार दिउँसो १ बजे बस्ने कार्कीले बताए । यसअघि आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटबारे छलफल गरेका थिए । सिट बाँडफाँटको विषयमा गठबन्धनका नेताहरुबीच भण्डै एक महिनादेखि निरन्तर छलफल भए पनि सहमति हुन सकेको छैन ।