नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । आज (मंगलबार) सङ्घीय संसद् भवन नयाँ बानेश्वर उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा प्रचण्डले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।
त्यस्तै प्रचण्डले नेपालको विकास र समृद्धिका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिनुका साथै ने तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न पनि आग्रह गरेका थिए ।
अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको सम्बन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको बताए । उनले भने ‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ । राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस् ।’
उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताएका थिए । चिनियाँ पक्षकोतर्फबाट अध्यक्ष ली ले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सधैँ सम्मान गर्ने बताए । उनले नेपाल एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकामा धन्यवाद व्यक्त गरे । अध्यक्ष ली ले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैँ साथमा रहेको बताउँदै नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न र सीमानाका खुलाउनका लागि पहल गर्ने बताए।