सन्दीपमाथि बलात्कारको आरोप, पुष्टि भए क्रिकेट यात्रामै लाग्न सक्छ पूर्ण विराम

सन्दीप लामिछाने नेपाललाई चिनाउने एक प्रख्यात नाम हो, तर नेपाललाई विश्वसामू चिनाउने यस नाममाथि हाल एक अभियोग लागेको छ। उनलाई एक १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी बृत्त गौशालामा पीडित नाबालिगका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध जाहेरी दर्ता परेको थियो । आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरी स्रोतका अनुसार नाबालिग १७ वर्षीया हुन् ।

सन्दीप र युवतीबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । र, त्यसैको आधारमा भेट्न बोलाएर नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । विश्वका सबैजसो फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपमाथिको यस्तो आरोपले उनको क्रिकेट यात्रामै पूर्णविराम लगाउन सक्छ ।



तर, उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै यस विरुद्धमा कानुनी लडाईं लड्ने बताइसकेका छन् । प्रहरीले सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी आएको र जाहेरीमाथि अनुसन्धानको काम भइरहेको बतायो । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेले भदौ ५ गते ती किशोरीलाई काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा घुमाएर राति ११:५५ बजे सिनामंगलस्थित होटलमा लगेर बलात्कार गरेको जाहेरी परेको उल्लेख छ ।

यस्तो छ सन्दीपको परिचय र क्रिकेट यात्रा
सन्दीपको जन्म स्याङजाको आरुचौर तालपोखरीमा सन् २००० अगष्ट २ मा भएको थियो । भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँग सन्दीप सानो छँदै पढाईको लागि भारत पुगेका थिए । भारतमा ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दीपको क्रिकेट खेलसँग परिचय भएको थियो । तर, उनको क्रिकेटको यात्रा भने औपचारिक रुपमा चितवनको नारायणगढस्थित क्याम्पसचौरमा (क्यापाचौर) रहेको चितवन क्रिकेट एकेडेमीबाट आरम्भ भएको हो ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्काले क्रिकेट खेल्न लामिछानेलाई सिकाएका थिए । त्यसक्रममा नेपालका पूर्व प्रशिक्षक पुबुद दासानायके चितवन आएका थिए । चितवन क्रिकेट संघको विशेष अनुरोधमा उनले प्रशिक्षण गरिरहेका केही खेलाडीको बलिङ र ब्याटिङ अवलोकन गरे । पुबुदु सुरुमै सन्दीपको बलिङ एक्सनबाट प्रभावित भए । त्यसपछि आईसीसी विश्व क्रिकेट लिग अन्तर्गत युएईसँगको खेलको लागि राष्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दीपलाई खेल्ने मौका दिइएको थियो।

सुपर लिग अन्तर्गत एक खेलमा सन्दीपले ४ विकेट लिएका थिए । सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यू-१९ विश्वकप २०१६ खेल्ने टिममा सन्दीप छनौट भएका थिए । यू-१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेटसहित दोश्रो स्थानमा थिए । आईसीसीले सन्दीपलाई उक्त यू-१९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सूचीमा समेत परेका थिए । सन्दीपले उक्त विश्वकपको आयरल्याण्डसँगको खेलमा ह्याट्रिक सहित ५ विकेट लिएका थिए । सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यु गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिबियाविरुद्ध थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यु गरेका थिए ।

नाबालिगले दिइन् यस्तो बयान
प्रहरी बृत्त गौशालामा एक १७ वर्षीया नाबालिगका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध गत मंगलबार जाहेरी दर्ता परेको हो ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । सन्दीप र युवतीबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । र, त्यसैको आधारमा भेट्न बोलाएर नगरकोट घुमाउन लगेको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।

किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशालानजिक एक होटलमा लगेर आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । केन्या भ्रमणको अघिल्लो दिन सन्दीपले किशोरीलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ । सन्दीपसहित नेपाली टोली भदौ ६ गते केन्या प्रस्थान गरेका थिए ।

यस्तो छ प्रहरीले जारी गरेको विज्ञप्ति
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सन्दीपविरूद्ध किटानी जाहेरी परेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्‍तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाण्डौ ल्याई रातको अन्दाजी २३:५५ बजे काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका-९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी १२:२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी दरखास्त परेको छ ।’

जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको विज्ञप्तिमा उल्लेख छ । घटनाको विषयमा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन्दीपले मागे क्यानसँग सहयोग
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले कानुनी लडाईं लड्ने बताएका छन् । सन्दीपले आरोपको सामना गर्नका लागि कानुनी लडाईं लड्न तयार भएको बताएका हुन् ।

सन्दीपले यस विषयमा कानुनी लडाईं लड्न तयार भएको भन्दै यसमा सहयोग गर्न नेपाली क्रिकेट संघ (क्यान) लाई आग्रह गरेको क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लले जानकरी दिए । सन्दीपले क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको मल्लले बताए ।

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी
नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई पक्राउ पुर्जी जारी भएको छ । बिहीबार सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरी बृत्त गौशालामा एक १७ वर्षीय नाबालिगले सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्नु पर्ने भन्दै जिल्ला अदालतलाई पक्राउ पुर्जी जारी गर्न अनुमति मागेको थियो । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको घर नुवाकोट रहेको प्रहरीको उच्च स्रोतले बताएको छ ।

आरोपको विषयमा सन्दीपको ट्विट
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । लामिछानेले ट्विट गर्दै आफू निर्दोष रहेको उल्लेख गरेका छन् ।

उनले बलात्कारको आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने पनि ट्विटमा उल्लेख गरेका छन् । त्यस्तै उनले आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि बताएका छन् ।

सन्दीप हाल क्यारेबियन प्रिमियर लिगको लागि वेस्ट इन्डिजमा रहेका छन् । सन्दीपले ट्विटमा लेखेका छन्, ‘म निर्दोष छु र नेपालको कानुनमा पूर्ण विश्वास राख्छु । सीपीएल छाड्ने र केही दिनमा नेपाल फर्कने निर्णय गरेको छु । म सबै आधारहीन आरोपको सामना गर्न तयार छु । निर्दोषलाई न्याय मिलोस् र सम्बन्धित सबैलाई सही छानबिन होस् । आशा छ कि कानूनले समान काम गर्नेछ ।’

क्यानद्वारा सन्दीप निलम्बित
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए ।

बलात्कारसम्बन्धी कानुनी व्यवस्था
सन्दीपमाथिको आरोप पुष्टि भए उनी कम्तीमा १० वर्ष जेल जाने निश्चित छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने भन्ने दफा छ । उक्त ऐनको दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ। यस ऐनको दफा २१९ को उपदफा ३ (घ) अनुसार १६ वर्ष वा १६ वर्षभन्दा माथि १८ वर्षभन्दा कम उमेरकी महिला भए जबरजस्ती करणीमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित समाचार