महाअभियोग सिफारिस समितिमा पूर्वप्रधानन्यायाधीशहरु बयान दिन नजाने भनेपछि…

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा बयानका लागि नजाने निर्णय गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा बयानका लागि नजाने निर्णय गरेका हुन् ।

‘हामीले आपसमा बसेर नजाने निर्णय गर्‍यौँ, हामीले दिनुपर्ने सुझाव पहिला नै दिइसकेको छौँ’, पूर्वप्रधानन्यायाधीश रायमाझीले भने, ‘पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुसार हामी सहभागी हुन ठिक छैन भन्ने निर्णय गर्‍यौँ, त्यो निर्णयको पत्र समितिमा पठाएका छौँ ।’ उनले पूर्वप्रधानन्यायाधीशहरूबीच छलफल गरी नजाने निर्णय गरिएको पत्रसमेत समितिमा पठाइसकेको जानकारी दिए ।



समितिको बुधबार बसेको बैठकले पूर्वप्रधानन्यायाधीश र बहालवाला न्यायाधीशलाई निलम्बित प्रधानन्यायाधीश राणाको बयानका आधारमा अनुसन्धानका लागि बयानका लागि बोलाउने निर्णय गर्दै पत्र पठाएको थियो । चार पूर्व प्रधानन्यायाधीशले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध सर्वोच्च अदालतमा आन्दोलन हुँदा विज्ञप्ति प्रकाशन गरेर आफ्ना धारणा व्यक्त गरेका थिए । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले बहालवाला न्यायाधीश सिफारिस समितिको बैठकमा जान नमिल्ने पत्र समितिलाई पठाएको छ ।

सम्बन्धित समाचार