पत्रपत्रिका
काठमाडौं, ३१ भदौ ।
चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रसुवा दुवै नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो ।
नाका खुलेसँगै रसुवाबाट बिहीबार बिहानै सातवटा ठूला कन्टेनर सामान र तातोपानी नाकाबाट दुई कन्टेनर सामान भित्रिएको भन्सार विभाग, रसुवाका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । बाँकी सात कन्टेनर सामान पनि साँझसम्ममा भित्रिसक्ने उनको भनाइ थियो ।
यसअघि रसुवा नाकाबाट दैनिक १४ वटा ठूला कन्टेनर सामान आउने र यो नाकाबाट अन्य सामानभन्दा बढी फलफूल भित्रिने गरेको छ । चारदिने नेपाल बसाइका क्रममा भएको उच्चस्तरीय भेटवार्तामा नेपालका तर्फबाट दशैतिहारजस्ता चाडपर्वको मुखमा यी दुई नाका तत्काल खोलिनुपर्नेमा जोड दिइएको थियो ।
भेटमा राजनीतिक दलका शीर्ष नेताले लीलाई नाकाखुलाउने विषयमा विशेष आग्रह गरेका थिए । लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा तातोपानी र रसुवागढी नाका तत्काल खोल्न चीन तयार रहेको जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।