नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
विसं २०७४ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि खारेज हुने भएको छ । आज(शुक्रबार) निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अघिल्लो निर्वाचनको बन्दसूची खारेज भएको जनाएका हुन् ।
‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९।०६।०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा यस्तो निर्णय गरेको आयोगले जनाएको छ । आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति