नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को गत भाद्र ७ गतेको बैठकको डिजिटल हाजिरीसम्बन्धी गरेको निर्णय र सो निर्णयसँग सम्बन्धित परिपत्र प्राध्यापकीय पेसाको मर्यादाविपरीत रहेको भन्दै त्यस निर्णयको विरोधमा त्रिवि प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशन गरेको छ । संघका सभापति प्राडा वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘उक्त अव्यवहारिक निर्णय समयमै फिर्ता नभए प्राध्यापकीय मर्यादा, प्राज्ञिक स्वतन्त्रता, पेसागत हक हित र विश्वविद्यालयको स्वायत्तताका निम्ति एकतावद्ध भई चरणवद्ध आन्दोलनका निम्ति तयार रहन सम्पूर्ण प्राध्यापक वर्गमा यस संघ हार्दिक अपिल गर्दछ’ भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ– त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समिति त्रिविमा इन्टरनेटको सहज पहँुच, डिजिटल बोर्ड लगायत आवश्यक उपकरणहरूको उपलब्धताको आधारमा शिक्षण सिकाइ व्यवस्थापन, लेखा प्रणाली, विद्यार्थीहरूको विवरणदेखि नतिजा प्रकाशन हुँदै प्राध्यापक÷ कर्मचारीहरूको अभिलेखीकरण जस्ता काम कार्यवाहीहरू डिजिटल प्रक्रियाबाट अध्यावधिक हुनु पर्ने र जसका लागि आवश्यक पर्ने तालिम र उपकरणहरूको उपलब्धताको लागि विभिन्न मञ्च र फोरमहरूमा जोडदार माग गर्दै आएको तथ्य सर्वविधितै छ । विश्वविद्यालयलाई अत्याधुनिक प्रविधि मैत्री बनाई यसबाट उत्पादित जनशक्तिलाई विश्व बजारमा दक्ष, योग्य र प्रतिस्पर्धी बनाउनका लागि यस संघ सधैं तत्पर रहदै आएको र यसका लागि जुनसुकै किसिमको साथ र सहयोग दिन तयार रहेको तर्फ सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छ ।
यसैबीच त्रिवि कार्यकारी परिषद्को मिति २०७९/०५/०७ गतेको बैठको निर्णय नं १५६२ को हवला दिंदै डिजिटल हाजिरी सम्बन्धी परिपत्रप्रति त्रिवि प्राध्यापक संघ, केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त परिपत्र वर्तमान त्रिविको व्यवस्था र अवस्था अनुसार प्राध्यापकीय पेसासंँग मेल नखाने र अन्तर्राष्ट्रिय प्राध्यापकीय पेसागत मर्यादा, हित र भावना विपरीत हुनुको साथै त्रिविको अक्षुण्ण स्वायत्ततामा ठाडै आँच आउने किसिमको अपरिपक्व निर्णय भएको यस संघको ठहर छ । यसर्थ उक्त परिपत्र सरोकारवाला पक्षहरूसँंगको छलफल, सल्लाह र सहमति विना एक पक्षीय ढङ्गले अलोकतान्त्रिक तरिकाबाट प्राज्ञिक कार्यमा समर्पित प्राध्यापकहरूबीच आतङ्क सृजना गर्ने उद्देश्यका साथ ल्याइएको हुँदा उक्त निर्णयलाई अविलम्ब फिर्ता लिन त्रिवि प्रशासनसमक्ष यस संघ जोडदार माग गर्दछ ।
विश्वविद्यालयमा शैक्षिक, प्राज्ञिक र स्वच्छ प्रशासनिक वातावरण सुचारू गर्न नसकेको वर्तमान त्रिवि नेतृत्व र त्यस अन्तर्गतको कार्यकारी परिषदले विश्वविद्यालयको तमाम समस्याहरू एकातर्फ पन्छाएर आफ्ना कमी कमजोरीहरू ढाकछोप गर्न पटक पटक यस्तै किसिमका अव्यावहारिक निर्णय गर्ने काम बन्द गरी सम्पूर्ण क्याम्पस तथा विभागहरूमा कम्तीमा आधारभूत आवश्यकता अनुरूपको प्राध्यापक कार्य कक्षको व्यवस्था गरी सरोकारवाला पक्षहरूसँंग गहन वहस र छलफलबाट मात्र यस्ता निर्णय र परिपत्र जारी गर्न वर्तमान त्रिवि प्रशासन र त्यस अन्तर्गतको कार्यकारी परिषद् साथै अन्य सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराउन चाहन्छ । साथै कुनै पनि कदम र निर्णय लिनु अघि विश्वविद्यालय सम्बन्धी अन्तराष्ट्रिय स्वायत्तता, मूल्य मान्यता, प्राज्ञिक स्वतन्त्रता र पेशागत सहमति र सहकार्यको ख्याल गर्न पनि यस संघ सम्बन्धित सवै पक्षसँंग अनुरोध गर्दछ ।
उक्त परिपत्रको सन्दर्भमा उक्त अव्यवहारिक निर्णय समयमै फिर्ता नभए प्राध्यापकीय मर्यादा, प्राज्ञिक स्वतन्त्रता, पेसागत हक हित र विश्वविद्यालयको स्वायत्तताका निम्ति एकतावद्ध भई चरणवद्ध आन्दोलनका निम्ति तयार रहन सम्पूर्ण प्राध्यापक वर्गमा यस संघ हार्दिक अपिल गर्दछ ।
विज्ञप्ति