नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशकै कारण सँगै काम गर्न पाएको बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले सरकारसँगै संसद् पनि परमादेशबाट नै आएको भन्दै त्यही कारणले अहिले सँगै संसदमा बसेर काम गर्ने अवसर मिलेको बताए । ‘हुन त हाम्रो प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनेर भन्नु हुन्छ । यो संसद् नै परमादेशबाट आएको हो । जसमा उहाँहरू र म काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगै बसेर काम गर्न पाउने थिएनौं । विधेयक पारित गर्न सक्दैनथ्यौं । परमादेशले भेट गर्ने मौका दिएको छ,’ देउवाले भने ।
त्यस्तै देउवाले वर्तमान सरकारले राम्रो उपलब्धी हासिल गरेको पनि दाबी गरे । उनले सरकारले संघ प्रदेश र स्थानीय तहको निर्वाचनमा समयमा सम्पन्न गर्न लागेको बताए । ‘सविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्ने अवसर प्राप्त भयो । यसमा महत्त्वपूर्ण कार्यमा गठबन्धनका सबै दललाई स्मरण गर्न चाहन्छु । गणतन्त्र आएपछि संसद् पहिलो पटक विघटन भयो,’ उनले भने ।
यस्तै उनले संसद्ले महत्वपूर्ण उपलब्धि हासिल गरेको आफूले महशुस गरेको उल्लेख गरे गर्दै वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताए । प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।