नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।
आठौँ संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी संविधान दिवस, २०७९ मनाइएको छ ।
संविधान दिवस, २०७९ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो ।
समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्च पास, विविध सांस्कृतिक झाँकीका साथै राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।
फोटो सौजन्य – रासस