एमाले पनि गठबन्धनको गृहकार्यमा, आगामी निर्वाचन रोचक हुने अनुमान !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु अर्को कुन दलसँग समन्वय गरेर जाने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन् । यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि विभिन्न दलसँग गठबन्धन गर्ने विषयमा छलफल गरिरहेको छ । स्थानीय तहको निर्वाचनमा सोचेअनुरुप नतिजा नआएपछि एमाले पनि अन्य दलहरुसँग गठबन्धन गर्न्ने योजनामा रहेको बुझिएको छ ।

भाषणमा जे भनिए पनि नेकपा एमालेलाई आसन्न निर्वाचनमा आफ्नो विरासत जोगाई राख्न तालमेलको आवश्यकता रहेको प्रष्ट छ । यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेकपा माओवादी केन्द्रको साथ पाएको थियो । यसैकारण एमालेले बहमुत ल्याएको थियो । तर यसपटकको निर्वाचनमा नेकपा माओवादी केन्द्र नेपाली काङ्ग्रेसलगायतसँगको गठबन्धनमा सामेल भएपछि एमालेलाई गठबन्धनको भय रहेको देखिन्छ, जसको कारण एमालेलाई विभिन्न साना दलहरुसँग तालमेल गर्नुको विकल्प देखिँदैन ।



अघिल्लो चुनावमा नेपाली कांग्रेसलाई एक्लाएर एमालेलाई साथ दिएको माओवादी केन्द्रले यसपटक भने एमालेलाई एक्लाएर नेपाली कांग्रेसलाई साथ दिएको छ । यद्यपि स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको डटेर सामना गरेको एमालेले आगामी निर्वाचनमा पनि गठबन्धनलाई चुनौती दिन सक्ने अनुमान लगाउन सकिन्छ । गठबन्धनमा सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चारहेका छन् ।

यी दलसँग गर्न सक्छ एमालेले गठबन्धन
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल पनि गठबन्धन निर्माणमा लागि परेको छ । गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि एमाले पनि विभिन्न दलहरुसँग तालमेलको लागि गृहकार्य गरिरहेको छ ।

एमालेले आगामी निर्वाचनमा लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं आगामी निर्वाचनको लागि गठबन्धन निर्माणको गृहकार्यमा रहेका छन् । ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेको स्रोतले बताएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
स्थानीय तह निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएको पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका थिए । सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरिसकेको छ । गठबन्धनको यस्तो निर्णयसँगै आगामी निर्वाचनमा पनि गठबन्धनको पल्ला भारी देखिएको छ ।

एमालेले जितेको स्थानमा गठबन्धनको यस्तो छ तयारी
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर एमालेले जित हात पारेको स्थानमा पाँच दलीय गठबन्धनले आ-आफ्ना बलिया उम्मेदवारहरुलाई उठाउने घोषणा गरिरहेका छन् । तर यस विषयमा ठोस निर्णय भने आइसकेको छैन । निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलले सिट बाँडफाँटको विषयमा अहिलेसम्म पनि सहमति नभएकोले एमालेले जित हात पारेको स्थानमा कसरी जाने भन्ने विषयमा सत्ता गठबन्धनले लगातार छलफल गरिरहेका छन् ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओली भने विभिन्न कार्यक्रमहरूमा बोल्दै आगामी निर्वाचनमा पनि गठबन्धनको सामना गर्न एमाले तयार रहेको भन्दै आफ्नो पार्टीले नै बहुमत ल्याउने उद्घोष गर्दै आएका छन् ।

सम्बन्धित समाचार