नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण गत अगष्ट १० मा अस्पताल भर्ना भएको श्रीवास्तवको उपचारको क्रममा दिल्लीको एम्स अस्पतालमा बुधबार निधन भएको हो ।
जिम क्लबमा व्यायाम गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । उनले सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाएका थिए । श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो ।
राजु श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष पनि थिए । उनी कमेडियन हुनुका साथै अभिनेता र राजनीतिज्ञ पनि थिए । उनले ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘बम्बे टु गोवा (रिमेक)’, ‘आम्दानी अठन्नी खर्चा रुपैयाँ’ जस्ता फिल्ममा अभिनय गरेका छन् । रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उपमुख्यमन्त्री केशव प्रसाद मौर्य, पूर्व मुख्यमन्त्री अखिलेश यादवलगायत धेरै दिग्गजहरूले उनलाई श्रद्धाञ्जली दिएका छन् ।
रक्षामन्त्री राजनाथ सिंहले ट्विट गर्दै भनेका छन्, ‘प्रसिद्ध हास्य कलाकार राजु श्रीवास्तव जीको निधनले म गहिरो दुःखी छु । एक कुशल कलाकार हुनुको अलावा, उहाँ एक धेरै जीवन्त व्यक्ति पनि हुनुहुन्थ्यो। उनी सामाजिक क्षेत्रमा पनि निकै सक्रिय थिए । म उहाँको शोक सन्तप्त परिवार र फ्यानहरूलाई मेरो समवेदना प्रकट गर्दछु। शान्ति!’