नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य रहेको बताएका छन् ।आज(बुधबार) एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको आवाज उठिरहेका बेला उपराष्ट्रपति पुनले विज्ञप्ति निकालेका हुन् ।
उपराष्ट्रपती पुनले पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको प्रति दुःख व्यक्त गरेका छन् । भर्खरै संविधान दिवस मनाएको भन्दै उनले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि आग्रह गरेका छन् ।
‘हामीले भर्खर संविधान दिवस मनायौँ । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु,’ उनले भने । उनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका हुन् ।
‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको छ । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति –