काङ्ग्रेस सभापतिले निर्णय नसच्याए पार्टीभित्रै विद्रोह हुने

नेपाली काङ्ग्रेसको संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेद्वारी चयन र टिकट वितरण प्रणालीमा एकलौटी गरेको भन्दै इतर समूह (शेखर कोइराला पक्षधर) नेताहरुले शनिबार खबरदारी सभाको आयोजना गरी निर्णय सच्याउन आग्रह गरेका छन् । यदि निर्णय नसच्याए पार्टीभित्र विद्रोह हुने चेतावनीसमेत दिएका छन् ।

खबरदारी भेलामा बोल्दै नेता गुरु घिमिरेले समानुपातिकको सूची असोज १६ गतेसम्ममा सच्याउन पार्टीका सभापति शेरबहादुर देउवालाई दबाब दिँदै पार्टीमा सबैलाई न्याय हुने गरी टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुने उद्घोष गरे । उनले आम कार्यकर्तालाइ पार्टीभित्रको तानाशाह र एकाधिकारवाद तोड्नका निमित्त एक भएर उभिन पनि अपिल गरे ।



अर्का नेता प्रकाश रसाइलीले सभापति शेरबहादुर देउवाले एकलौटी गरी आफ्ना पक्षधर नेताहरूलाई मात्र प्रतिनिधि सभाको टिकट बाँँडफाँड गर्न लागेको र समानुपातिक सूचीमा पनि राम्रालाई हैन हाम्रालाई च्यापेकोले यसको प्रतिबाद गर्न आम कार्यकर्तालाई आग्रह गरे ।

काङ्ग्रेस सभापतिले निर्णय नसच्याए पार्टीभित्रै विद्रोह हुने

नेता जगदीश्वरनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति शेरबहादुर देउवाले नसच्याए आफूहरूले पार्टीभित्र आन्तरिक विद्रोह गरेर अघि बढ्ने बताए । उनले हिजो राणाकाल, पञ्चायत, बहुदल हुँदैै गणतन्त्रसम्म आइपुग्दा सँगै आन्दोलनको मोर्चामा लडेका साथीहरूलाई पेलेर पाखा लगाउन खोजेको आरोप पनि लगाए । गठबन्धनको नाममा अरुलाई खुशी पार्न आफ्नै नेताहरूलाई अपहेलना गर्ने काम सभापतिबाट भएको नेता केसीको कथन छ ।

केसीले अगाडि भने– ‘हामी सबैलाई न्याय हुन पर्यो । सभापति देउवा एउटा गुटको मात्र नेता भएको देखियो । असोज १६ गतेसम्ममा समानुपातिकको सूची नसच्याए आन्दोलन गरेर अगाडि बढिने छ । शेरबहादुर देउवा पार्टी सभापति भए पनि भित्री रूपमा एकपक्षीय ढंगले अघि बढेकाले आफूहरूले विरोध गर्नु हो ।’

काठमाडौंको एक ब्याङ्केटमा सम्पन्न खबरदारी भेलामा गुरु घिमिरे, प्रकाश रसाइली, अजयबाबु सिवाकोटी लगायतका एक दर्जन जति केन्द्रीय सदस्यहरू तथा जिल्ला सभापतिहरू, प्रदेश तथा विभिन्न तहका नेताहरू र हजारौको संख्यामा असन्तुष्ट कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार