नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी छिन् । आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको जानकारी दिएको हो ।
‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्बत् २०७९ साल मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना, ०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा संवत् २०७९ साल मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति