नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहको विवेकशील साझाबीच पार्टी एकता भएको छ । बुधबार काठमाडौको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा राप्रपा र मिश्र समूहको विवेकशील साझा पार्टीबीच एकता भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उनीहरूले एकता घोषणा पत्र हस्ताक्षर गरी एकअर्कालाई हस्तान्तरण गरेका थिए। पार्टी एकतासँगै मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् । मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिए पनि वरीयताबारे भने खुलाइएको छैन ।
यससँगै मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर र राप्रपाबीच औपचारिक एकता भएको छ । घाेषणापत्रमा ४ बुँदा उल्लेख गरिएकाे छ ।कार्यक्रममा शंखघण्ट बजाउनुका साथै बटुकहरुबाट स्वस्ति बाचन गरेर एकता घोषणा गरिएको थियो । यसअघि सोमबार विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत मिश्रले राजीनामा दिएका थिए ।