नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । आज (शुक्रबार) भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
पूर्वराजाले देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको बताए । उनले नागरिकता विधेयकतर्फ संकेत गर्दै बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरिएको दाबी गरे ।
उनले भने, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आमभावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’
पूर्वराजाले दलहरु पदलोप, सत्ता स्वार्थ र भागबण्डामा अल्झिएको आरोपसमेत लगाएका छन् । रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशीरहेकोमा चिन्ता गर्दै पूर्वराजाले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको बताएका छन् । उनले विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको जिकिर गरे । ‘अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ । ‘विश्वका दुई ठूला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति, सभ्यतामाथि घातक प्रहार हुँदै आएको छ ’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिका धार्मिक, सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिंदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।’
उनले भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाएको र सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्दै गइरहेको भन्दै देशशभित्र र बाहिर रहेका नेपालीलाई दसैंको शुभकामना दिँदै अहिलेको समय देशभक्त नेपालीका लागि सजिलोसँग वितिरहेको जस्तो नलागेको पनि बताए ।
‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्, जय नेपाल ’ पूर्वराजाले भनेका छन् ।