नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताएका छन् । बिहीबार ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्वपूर्ण हुने बताए । ओलीले देशको अवस्था भयावह रहेको भन्दै देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए ।
उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए । देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरे । उनले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे ।