नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असोज ।
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विजयी भएको छ । सोमबार राति भएको खेलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
लेस्टर सिटीलाई फराकिलो जित दिलाउन जेम्स म्याडिसनले २ गोल गर्दा हार्भे बर्नेस र पाट्सन डाकाले समान १-१ गोल गरे । एकतर्फी बनेको खेलमा खेलको २५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २७ औं मिनेटमा बर्नेसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ३५ औं मिनेटमा म्याडिसनको गोल मार्फत पहिलो हाफमा लेस्टर सिटी ३-० ले अघि रह्यो । दोस्रो हाफमा लेस्टर सिटीले थप एक गोल गर्यो । खेलको ७३ औं मिनेटमा डाकाले गोल गर्दै लेस्टरलाई ४-० को सहज जित दिलाए । जारी सिजनमा लेस्टर सिटीको यो पहिलो जित हो । लेस्टर सिटी ८ खेलमा ४ अंक जोड्दै तालिकाको १९ औं स्थानमा छ भने ४ अंक जोडेको नटिङघम फरेस्ट पुछारमा रहेको छ ।