आसुरीशक्तिका विरूद्ध लड्ने क्षमता प्राप्त होस् : बडादशैंको शुभकामना !

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मका १५ दिनलाई दशैं मान्ने सनातन परम्परा रहिआएको छ । त्यसमध्ये पनि सप्तमी अर्थात् फूलपातीका दिनदेखि विजयादशमीसम्मका दिनहरूलाई विशेष मानिन्छ । असत्यमाथि सत्यको विजय अर्थात् आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा दशैं मनाउने प्रचलन छ । विजयश्री प्राप्तिका लागि शक्तिको स्रोतका रूपमा नौदिनसम्म देवी दुर्गा भवानीको पूजा अर्चना गर्ने र प्रसाद ग्रहण गर्ने गरिन्छ । यो नकारात्मक शक्तिका विरूद्धमा सकारात्मक ऊर्जा प्राप्त गर्ने सुन्दर परम्परा हो ।

हरेक समाजमा कुनै न कुनै रूपमा आसुरी शक्ति अर्थात् साक्षसी शक्ति विद्यमान हुन्छ । आसुरी प्रवृत्तिले शक्तिको दम्भमा अरूलाई दुःख दिने, कष्ट दिने र सङ्कटमा पुर्याएर त्यसबाट आर्थिक, भौतिक र मानसिक लाभ लिने गर्छ । आम मानिसहरू सृष्टिको आदिकालदेखि नै यस्तो प्र्रवृत्तिका विरूद्धमा लड्दै आएका छन् । हिजोका मानिसहरूले खान र बाँच्नका लागि सङ्घर्ष गरे, आजका मानिसहरू आफ्नो स्वाभिमान र अस्तित्व रक्षाका लागि कुनै न कुनै रूपमा सङ्घर्षरत छन् ।



धार्मिक ग्रन्थहरूमा आकृतिमा मानिसजस्तै तर हातमा लामा लामा नङ्ग्रा भएका, लामा र तिखा दाँत भएका डरलाग्दो जीव विशेषको कल्पना गरी त्यसलाई राक्षसको संज्ञा दिएको पाइन्छ । वास्तवमा यो आकृति प्रतीकात्मक छ । जसले अरूको अधिकार वा भौतिक सम्पत्तिमाथि अनधिकृत रूपमा कब्जा गर्ने, लुट्ने, खाने र रमाउने गर्छ, त्यस्तो प्रवृत्तिलाई राक्षस भनिएको छ, जो आफैंमा बिम्बात्मक छ । वास्तवमा तिनीहरू पनि आम मानिसहरूजस्तै नै थिए तर स्वभाव भने दुष्ट र अहङ्कारी थियो । हाम्रो समाजमा पनि दुष्ट र अहङ्कारी प्रवृत्ति भएका मानिसहरूको कमी छैन, त्यस्ता मानिसहरू नै राक्षसका मानव अवतार हुन् ।

बाहिरी रूपमा हेर्दा राम्रा र चिटिक्क परेका तर वैचारिक रूपमा भने कुरूप भएका, अरूलाई लुट्ने, दुःख दिने र अप्ठ्यारोमा पारेर आर्थिक, भौतिक, शारीरिक वा मानसिक रूपमा शोषण गर्ने प्रवृत्ति नै आसुरी शक्ति हो । बलियाहरूले निर्धा र कमजोरहरूलाई लुट्ने आसुरी शक्तिका विरूद्धमा युगौंदेखि नै सङ्घर्ष हुँदै आएको छ । दशैंले यस्तै नकारात्मक शक्तिका विरूद्धमा लड्न प्रेरित गर्दछ ।

सङ्घर्ष वा आन्दोलनका स्वरूपहरू पनि विभिन्न प्रकारका हुन्छन् । त्यसैमध्ये एउटा जनमत सङ्ग्रह वा चुनाव पनि हो । आगामी मंसिर ४ गते हुने चुनाव पनि आम मानिसहरूको विवेकका बलले गुहु र गोबर छुट्याउन पाउने ठूलो अवसर हो । आफ्ना सन्ततिहरूलाई कस्तो भविष्य हस्तान्तरण गर्ने भन्ने निर्णय गर्ने दिन फटाहाहरूको शब्दजालमा, डर–त्रासमा, रुन्चे बोली वा आर्थिक प्रलोभनमा परेर योग्य व्यक्ति चुन्नबाट चुक्यौं भने आउने पाँच वर्षसम्म फेरि पनि हामी दास बन्नुपर्ने पक्का छ । अतः आगामी चुनावलाई पनि आसुरीशक्तिका विरूद्धको आन्दोलनका रूपमा लिँदै योग्य, सक्षम र दूरदृष्टि भएका प्रतिनिधि छान्न दुर्गा भवानीको कृपा प्राप्त होस् । नेता, अभिनेता, समाजसेवी वा अन्य जुनसुकै आवरणमा समाजमा देखिने आसुरी शक्तिको परिचान गरी तिनीहरूका विरूद्धमा लड्ने, भिड्ने र तिनीहरूलाई परास्त गर्ने शक्ति दुर्गा भवानीले प्रदान गरून् : सबैमा बडादशैंको हार्दिक तथा मङ्गलमय शुभकामना !

सम्बन्धित समाचार