एलपी पौड्याल
काठमाडौं, १९ असोज ।
‘नाइँ, म त काकाको घरमा जान्न । टेस्ला गाडी चढेर दुःख गरी डेरामा बसेका काकासँग के आशीर्वाद लिन जाने र बाबा हजुर ! आशीर्वाद लिनका लागि पनि त आशीर्वचन दिने पात्र त्यसका लागि योग्य हुनुपर्यो नि । परम्परा धान्ने नाममा लज्जाबोध हुने गरी टीका थाप्न जान्न म त !’ दिपकले बाबालाई आफ्नो धारणा सुनायो ।
डाक्टर बनिसकेको छोरा दिपकको कुरालाई बाबाले पनि कडा रूपले प्रतिवाद गर्न सकेनन् । भने– ‘जे भए पनि तिम्रो काका हो । लोकाचारका लागि पनि गएर २-४ अक्षता टाँसेर हिँडे त भइहाल्यो नि ! गरिब देखेर हेला गरे भनेर दुनियाँले कुरा काट्लान् कि फेरि ?!’
‘कुरा काट्नेको मुख कसले बन्द गर्न सक्छ र बाबा ? जाँदा पनि शान देखाउन आयो भन्लान् अनि नजाँदा हेपेर आएन भन्लान् । भन्नेले के भन्लान् भन्दा पनि जानेलाई पनि त जाने ठाउँ आत्म–स्वीकार्य हुनुपर्यो नि ।’
‘तँ कहाँ जान लागेको त अहिले ?’
‘साथीको रिसोर्टमा भेटघाटको कार्यक्रम छ । केही समय साथीभाइसँग रमाइलो गरेर फकिन्छु ।’