दसैंको मासु (कथा)

‘ए धने, पानी तताउन ढिलो भइसक्यो । खोई माने पनि अहिलेसम्म आइपुगेन । आठ बज्न लागिसक्यो । यी भतुवाहरूलाई हिजै त्यति भाँती भनेको । आज महाअष्टमीको दिन, पूजा गर्न ढिलो हुन लाग्यो । ल धने चाँडो गर । खसी काट्न बोलाएको मान्छे आउने बेला भयो ।’ जिम्दार बाले चिच्याउँदै भने ।

पिँडीमा बाँधेको लगभग २० धार्नीको घोर्ले खसी एक सुरमा कराइरहेको थियो । पुराना कामदारहरू माने र धनेले ठूलो भाँडोमा पानी तताए । एकछिनपछि खसी कटुवा आयो । जिम्दार बाले अक्षता , फूल र पानीले खसीलाई पर्सिए । खसी कटुवाले खसी काटेर भुइँमा लडायो अनि ज्याला र कत्ती बोकेर अर्को घरतर्फ लाग्यो । माने र धनेले खसी भुत्ल्याए अनि सफा पारे । मासु टुक्रा पारे । जिम्दार बाले नजिकै बसेर हेरिरहे । एकछिनपछि जिम्दार्नी आमैले दिएको भुटन र चिउरा माने र धने दुबैले आफ्नो परिवारलाई सम्झिँदै खाए ।



मानेले भन्यो ‘ए धने ! यत्रो खसी काटेका छन्, यो खान्छ चाहिँ कसले ? यी दुईजना बुढाबुढी, त्यो लाटी छोरी गरी तीन जना अनि भान्से बज्यै । कसरी खाइसक्छन् यत्तिका मासु ? हिजो राँगाको मासु पनि एक भाग मैले नै ल्याइदिएको थिएँ । पाँच धार्नी छ भन्थे ।’

‘खै पाहुनाले खान्छन् होला नि । सहरबाट छोराबुहारी नाति नातिना आउँछन् रे । छोरी ज्वाइँ, भान्जा भान्जी, तिनका छोराछोरी… खाल्ऽान् नि सबै मिलेर । बडाघरको बडै चाला । जिम्दारका घरको दसैँ तँलाई थाहा छैन र ? पूर्णिमासम्म मान्छेको आउने जाने क्रम चलिरहन्छ’ धनेले भन्यो ।

दिउँसो माने र धनेले त्यही खाना खाए । जिम्दार्नीले राँगोको मासु, खसीको भुटन, टमाटरको अचारसँग दिएको खाना दुबैले मिठो मानेर पेटभरि खाए । तर प्रत्येक गाँस टिप्दा आफ्नी श्रीमती र छोराछोरीलाई सम्झिन्थे ।

जिम्दार्नीसँग जिम्दार बा ठूलो स्वरमा भन्दै थिए– ‘खाइहाले, भइगयो नि । दसैँको मासु पनि बाँडेर साध्य हुन्छ ? यिनीहरूको घरको पनि ठेक्का लिएको छ र हाम्ले ? तिन्का छोराछोरीहरूलाई ल्याएर खुवाउन जानेका होलान् नि तिन्ले !’
‘त्यसो भए नदिऊँ त ?’ जिम्दार्नीको स्वर मसिनो थियो ।

‘पर्दैन, आशे हुन्छन्, बानी किन बिगार्छेस् । पाहुनालाई पनि त राख्नुपर्छ ।’ जिम्दार बाले उस्तै स्वरमा भने ।
घर फिर्ने बेलामा धने र मानेले जिम्दार बालाई ढोगे अनि बिदा मागे । उनीहरू बेलुकापख आफ्नो घरतिर लागे । रित्तो हात घर आएको देखेर छोराछोरी र श्रीमतीले केही भनेनन्,मानौं परिस्थितिका बारेमा उनीहरू पहिले नै जानकार थिए । उनीहरूले घिरौलाको रस र दिउँसो कुलोमा मारेका हिले माछासँग भात खाएर अष्टमी मनाए ।

उता जिम्दार बाले दिउँसो काटेको राम्रो मासु फ्रिजमा कोची कोची राखे । जिम्दार्नीले अष्टमीको साँझ निकै मेहनत गरेर ठूलो भाँडोमा मासुको पक्कु लगाइन् र ढक्कनले छोपिन् । बिरालो नखाओस् भनेर ढक्कनमाथि सिलौटो पनि राखिन् ।
आकाशमा बादल देखापर्न थाल्यो । गड्याङगुडुङसहित महानवमीको दिनदेखि पर्न थालेको पानी लगातार द्वादशीको दिनसम्म परिरह्यो । जताततै पानीले बाटो बिगारेको, बाढीले पुल बगाएको, धनजनको क्षति भएको समाचार जिम्दार बाले रेडियोमा सुने । छोराबुहारीले विमानस्थलमा पानी जमेकाले प्लेनको टिकट रद्ध गर्नुपरेको बताए । पुल पनि बाढीले बगाएपछि बसमा आउन पनि सम्भव नभएको खबर गरे ।

बाढीको कारण छोरी, ज्वाइँ, नातिनातिना, भाञ्जाभाञ्जी कोही आउन सकेनन् । टीकाको दिन टाढाका पाहुनाहरू कोही पनि आएनन् । जिम्दार बाले श्रीमती, छोरीलाई तथा नजिकका आफन्तलाई टीका लगाइदिए । जिम्दारको घरको मासु, जाँडका घ्याम्पा र रक्सीका जर्किन खासै यस दसैँमा चल्न पाएनन् । नजिकैका पाहुनाहरू पनि टीका लगाएर फर्किएपछि साँझमा जिम्दारको घरमा आफ्नोे घरका मान्छेबाहेक कोही पनि भएनन् । जिम्दार बाले के सोचे कुन्नि तर जिम्दार्नीलाई यस वर्षको दसैँ साह्रै खल्लो महसुस भयो ।

चट्याङले हानेर बिजुलीको ट्रान्सफरमर बिग्रेकोले नवमीको दिनदेखि गाउँ अन्धकारमय बन्यो । विद्युत प्राधिकरणले अविरल पानी परेको र बाहिरबाट ट्रान्सफरमर मगाउनु पर्ने भएकाले तत्काल विद्युत सुचारु नहुने जानकारी गरायो ।
जिम्दार्नी आमै पिँढीमा बसेर एक्लै भुतभुताउँदै थिइन्– यस्तो नरमाइलो दसैँ त कहिल्यै भएको थिएन । उनी भान्सामा पसेर बिहान बेलुका नै पक्कु लगाएको मासुको भाँडो तताउने गर्थिन् । जिम्दार बा पनि फ्रिज खोलेर बिहान बेलुका मासुको निरीक्षण गर्थे, सुम्सुम्याउँथे ।

त्रयोदशीका दिन बिहानदेखि नै घाम लाग्यो । धने र माने पनि काममा फर्के । जिम्दारले धने र मानेलाई अम्बाको बोटमुनि गहिरो खाल्डो खन्न लगाए । उनीहरूले किन खाल्डो खनिएको हो बुझेका थिएनन् । जिम्दार बाले दुबैजनालाई भान्सा कोठामा बोलाए । एक किसिमको नमिठो गन्धले कोठा ढाकेको थियो । सिनोको गन्ध ! जिम्दार बाले फ्रिज खोलेर त्यहाँ रहेको सबै मासु भाँडोेमा राखी खाल्डोमा लगेर पुर्न भने । अनि, आफू बाहिर निस्के ।

धनेले मानेलाई भन्यो– ‘जिम्दार बाले फ्रिजमा राखेको मासु त सबै कुहिएछ । छिः कस्तो गन्हाएको ।’ मानेले नाक थुन्यो । धने र माने दुबैले वाकवाक गर्दै फ्रिजको मासु निकाले र ठूलो खड्कुँलोमा हाले अनि करामा समातेर लगी खाल्डोमा हाले । त्यही बेला जिम्दार्नीले पनि कराएर आदेश दिइन् ‘त्यो भाँडोको पकाएको मासु पनि गन्हायो, फालिदिनू ।’

धने र मानेले केही नबोली आदेशको पालना गरे । जिम्दार बा बार्दलीमा बसेर तमाखु खाँदै थिए । जिम्दार्नी एक तमाससित त्यो दृश्य हेरेर एक्लै केही बोलिरहेकी थिइन् । उनी के बोल्दै थिइन् धने र मानेले बुझेनन् तर उनीहरूले आफ्नो काम गरी नै रहे । खाल्डोबाट अझै दुर्गन्ध आउँदै थियो, उनीहरूले माटो थप्दै गए ।

सम्बन्धित समाचार