नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) भने अनुपस्थित रहेको छ ।
बैठकमा जसपा सहभागी नभएको एक नेताले जानकारी दिए । गठबन्धन छाडेर जसपा नेकपा एमालेतिर नजिकिएको छ । एमालेका एक नेताका अनुसार सिट बाँडफाँड एमाले र जसपाबीच लगभग सहमति भएको जानकारी दिएका छन् । यसअघि बिहीबार बसेको गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
बैठकमा पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने प्रयास भइरहेको कार्यदलको सचिवालय सचिव केशवराज जोशीले जानकारी दिए । निर्वाचन आयोगले यही असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको मनोनयनमा मिति तोकेको हुँदा त्यस अगाडि नै दलहरुबीचको सिट बाँडफाँड टुङ्गो लगाई उम्मेदवारलाई टिकट वितरण गरिसक्नुपर्ने भएको हुनाले आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू सहभागी छन् ।