नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) एमालेसँग नजिकिएको विषयमा प्रतिक्रिया दिएका छन् । बिहीबार एक ट्विट गर्दै उनले जसपा एमालेसँग नजिकिएको विषयमा प्रतिक्रिया दिएका हुन् ।
भट्टराईले चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद रहेको बताएका छन् । उनले एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु सरह रहेको टिप्पणी गरेका हुन् ।
सिट भागबण्डामा असन्तुष्टि जनाउँदै आएको गठबन्धन आवद्ध दल जसपा एमालेसँग सहकार्यको तयारीमा जुटेपछि सत्ता गठबन्धन फुट निकट पुगेको हाे । यसैबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा जसपा भने अनुपस्थित रहेको छ ।
डा भट्टराईले सामाजिक ट्विटरमा लेखेका छन् -‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं!’