नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।
नेकपा एकीकृत समाजवादीले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । एकीकृत समाजवादी का महासचिव डा वेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई यस्तो निर्देशन दिएका हुन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने भुसालको विज्ञप्तिमा उल्लेख छ । भुसालले निर्धारित समयसीमाभित्र उम्मेदवारी फिर्ता गरी साङ्गठनिक अनुशासनमा दृढ रहन समेत आग्रह गरेका छन् ।
निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय तोकेको छ ।