सत्तारुढ दलको गठबन्धन र एमाले गठबन्धन : निर्वाचन रोचक हुने अनुमान

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा तीव्रता दिइरहेका छन् । अहिले देशमा चुनावी सरगर्मी बढेको देखिन्छ । चियापसल देखि विभिन्न टोलमा चुनावको चर्चा चलिरहेको छ । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु अर्को कुन दलसँग समन्वय गरेर जाने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन् । आसन्न निर्वाचनमा सत्तारुढ दलको गठबन्धन र एमाले गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि विभिन्न दलसँग गठजोड गरेको छ । स्थानीय तहको निर्वाचनमा सोचेअनुरुप नतिजा नआएपछि आसन्न निर्वाचनको लागि एमालेले पनि अन्य दलहरुसँग गठबन्धन गरेको हो ।

विभिन्न दलहरुसँग गठबन्धन गरेपनि नेकपा एमालेलाई आसन्न निर्वाचनमा आफ्नो विरासत जोगाई राख्न हम्मे-हम्मे पर्ने देखिन्छ । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रको साथ पाएर पहिलो पार्टी बनेको एमालेलाई नेकपा माओवादी केन्द्र नेपाली काङ्ग्रेसलगायतसँगको गठबन्धनमा सामेल भएपछि एमालेलाई गठबन्धनको भय रहेको देखिन्छ । स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन समक्ष डटेर सामना गरेको एमालेलाई आगामी संघीय निर्वाचनमा पनि डटेर सामना गर्नुपर्ने प्रष्ट देखिन्छ । अघिल्लो चुनावमा नेपाली कांग्रेसलाई एक्ल्याएर एमालेलाई साथ दिएको माओवादी केन्द्रले यसपटक भने एमालेलाई एक्ल्याएर नेपाली कांग्रेसलाई साथ दिएको छ । गठबन्धनमा सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।



यी दलसँग गर्यो एमालेले गठबन्धन
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल पनि गठबन्धन निर्माण गरेको छ । गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि एमाले पनि विभिन्न दलहरुसँग तालमेल गरेको हो ।

एमालेले आगामी निर्वाचनमा लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), सहितका दलसँग चुनावी गठबन्धन गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं आगामी निर्वाचनको लागि गठबन्धन निर्माणको गृहकार्यमा रहेका थिए । यसअघि एमालेले लोसपासँग पनि तालमेल गर्ने लगभग सहमति भएको थियो तर अन्तिममा आएर लोसपा सत्ता गठबन्धन दलमा समावेश भएपछि तालमेलको विषय समाप्त भएको थियो । र, जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेको थियो ।

सत्ता गठबन्धनमा लोसपा इन जसपा आउट
सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । गठबन्धनले लोसपालाई मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने सहमति भएको हो । सिट बाँडफाँटमा गठबन्धनसँग सहमति नभएपछि जसपाले गठबन्धन छोडेर एमालेसँग तालमेल गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
स्थानीय तह निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएको पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका थिए । सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेका थिए ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति, कसले कति पाए ?
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्ता गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँड भएको छ । गत शुक्रबार प्रधानमन्त्री निवासमा बसेको बैठकले सत्ता गठबन्धनका दलहरुबीचमा सिट बाँडफाँटमा सहमति भएको हो ।

जसमा कांग्रेसले प्रतिनिधिसभाको ८९ सिट, नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ७ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् ।

सम्बन्धित समाचार