नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।
नेकपा एमालेका नेता भीम रावलले निर्वाचनमा टिकट वितरणको विषयमा चर्को आलोचना गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले निर्वाचनमा टिकट वितरणको विषयमा चर्को आलोचना गरेका हुन् ।
रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताएका छन् । उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । अनुशासनको कुरा उठाएर पार्टीमा योगदान दिएका नेतालाई किनारा लगाउनु पार्टीको हित, नीति र सिद्धान्तविरुद्ध भएको रावलले दाबी गरे ।
‘एमालेको सङ्गठन बनाउन र पार्टी बनाउन लामो समयसम्म पसिना बगाएको छु, मेरो उम्मेदवारी रोकिनुमा विभिन्न शक्तिहरूको चलखेल छ भन्ने सुनेको छु । मेरो विरुद्धमा अनेक षडयन्त्र भएको महसुस गरेको छु’ उनले भने । उनले आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको आरोप लगाए । रावलले आम चुनावको चर्चा हुन थालेपछि आफू विरुद्ध षड्यन्त्र हुन थालेको बताएका छन् ।
‘आम निर्वाचनको चर्चा हुन थालेपछि मैले चुनाव नलड्ने भनेर सुनियोजित प्रचार भयो । मेरो एकल उम्मेदवारी सिफारिस भएपछि मेरो घरमा आएका सुदूरपश्चिमका नेता कार्यकर्तालाई चुनाव लड्न तयार रहेको भनेको थिए । अछाम एकबाट चुनाव लड्ने भन्दै आफ्नो मन्तव्य समेत दिएको थिए । त्यो भेला रोक्ने प्रयास समेत गयो चुनाव नलड्ने भन्ने भनि गरिएको प्रचारको खण्डन गरेपछि सम्पर्कविहीन भएको भन्दै कुप्रचार गरियो’ रावलले भने।
त्यस्तै उनले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको बताएका छन् । उनले भने , ‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुई तिहाइको प्रधनममन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने ।’
‘होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुर टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ?’, उनले भने । यस्तै नेता रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । उनले आफूले टिकट नपाए पनि चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए । उनको क्षेत्र अछाम १ मा भर्खरै माओवादी छोडेर एमालेमा आएका झपट बोहोरालाई उम्मेदवार बनाइएको छ ।
यस्तो छ २०७९ साल मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारी रोकिएको सम्बन्धमा भीम रावलको धारणा :