प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री, कानुन मन्त्रालयको जिम्मा कार्कीलाई (विज्ञप्तिसहित)

पदमुक्त भएका मन्त्रीको कार्यभार देउवाले सम्हाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएका छन् । जसपा गठबन्धनबाट बाहिरिएसँगै प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका चार मन्त्रीलाई हटाएका हुन् ।

प्रधानमन्त्री देउवाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई हटाएका हुन् । जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको हो ।



प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी बर्खास्त भएका सबै मन्त्रीहरूले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) को पदावधि सकिएपछि उक्त मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवाले सो जिम्मेवारी कार्कीलाई दिएका हुन् ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७८ बमोजिम मिति २०७८ चैत २४ गते माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनु भएका श्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाली आउनुभएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ‘ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति –

विज्ञप्ति -

सम्बन्धित समाचार