नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलहरूले घोषणापत्र अलग अलग बनाउने भए पनि चुनावी अपिल भने साझा बनाउने भएका छन् ।
अपिललाई मूर्त रूप दिन सत्तारुढ गठबन्धनले गठबन्धनमा आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एक÷एक जना सदस्य रहने गरी एक समिति पनि बनाएका छन् ।
साझा अपिल निर्माण गर्ने समितिमा नेपाली काङ्ग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन् ।
काङ्ग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र तयार गरिरहेको छ । समितिमा काङ्ग्रेस पदाधिकारी र केही केन्द्रीय सदस्य तथा अन्य विषय विज्ञसमेत छन् । काङ्ग्रेसले सबै वर्ग, समुदाय, उमेर समूह र भूगोलको विविधतालाई केन्द्रमा राख्ने भन्दै घोषणापत्रका लागि देशभरबाट सुझाव लिएको थियो ।
यसैगरी, माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा, एकीकृत समाजवादीले उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा तथा राष्ट्रिय जनमोर्चाले मनोज भट्टको नेतृत्वमा आ–आफ्नो दलको धारणा र दृष्टिकोणसहित घोषणापत्र तयार गर्दै छन् ।