नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कार्तिक ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्ने निर्वाचन आयोगले रौतहट प्रहरीलाई निर्देशन दिएको छ । आयोगले एक पत्र जारी गर्दै अध्यक्ष नेपालले निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको हो ।
रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ ।आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको पत्रमा उल्लेख छ ।
नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ । नेपालले ‘बिना ढेउवा के भिसा मिल हे, टिकट मिलते हैं, काठमाण्डौमे तलिम मिल्ते हैं’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सोप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा १ को खण्ड च मा उम्मेदवारले कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था रहेको र सोही ऐनको दफा २० को उपदफा १ को खण्ड ‘च’ विपरितको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था रछ ।
पत्र :