नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कार्तिक ।
नेपाल समाजवादी पार्टी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त भएको बताएका छन् ।
शुक्रबार बिहान काठमाडौं क्षेत्र नम्बर ७ मा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको बताए ।
भट्टराईले भने, ‘नेपालको वामपन्थी आन्दोलनको मूलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’
त्यस्तै अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले प्रतिगमनकारी शक्तिले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र गरिरहेको भन्दै कुनैपनि हालतमा त्यो सह्य नहुने बताए ।
‘पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन । बरु उल्टै हिजो संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरूको मतिभ्रष्ट भएर भनौँ, विभिन्न शक्तिहरूको चलखेलको कारणले भनौँ फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरू भए । त्यसैलाई यो प्रतिगमन विरोधी संघर्ष भनेर फेरि यो प्रतिगमनलाई रोक्नको निम्ति हामी एक ठाउँमा आयौँ । त्यही क्रममा यो वाम र लोकतान्त्रिक गठबन्धन हामीले निर्माण गरेको हो ’ उनले भने
आगामी मंसिर ४ को निर्वाचनको पहिलो मुद्दा नै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु रहेको बताए । उनले भने, ‘अहिलेको निर्वाचनमा पनि यो गठबन्धन बनाउनुको अर्थ के हो भने २००७ सालदेखि लडेर ल्याएको लोकतन्त्रलाई कुनै पनि हालतमा, कुनै पनि बहानामा प्रतिगमनतिर हामी लैजान दिँदैनौँ । यसको हामी रक्षा गर्छौँ । त्यसैले यो अग्रगमनकारी मोर्चाले जित्नैपर्छ ।’