मंसिर ४ गतेको निर्वाचन सामान्य छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताएका छन् । शुक्रबार बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘त्यसकारण ४ गतेको निर्वाचन सामान्य छैन । देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर हो मंसिर ४ गतेको निर्वाचन ’ प्रचण्डले भने ।



अध्यक्ष प्रचण्डले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि तयार भएको गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । देशमा अहिले प्रष्टरुपमा दुई वटा गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले एउटा गठबन्धन अग्रगमनतिर अर्को पश्चगमनतिर, एउटा संविधान जोगाउनेतिर र अर्को संविधान मास्नेतिर देखिएकाले अग्रमगनको पक्षमा उभिएको आफूहरुको वाम लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने,‘केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परे । संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरीतिर फेरि धकेल्ने कसरतहरु भए । त्यो प्रवृत्ति, विचारका विरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो ।’

राजनीतिक उपलब्धिको रक्षाका लागि तयार भएको गठबन्धनले यस निर्वाचन क्षेत्रको भावना बुझ्ने गरी उम्मेदवारी दिइएकाले सफल हुने विश्वास उनले व्यक्त गरे । उनले सङ्घीय संसद्का लागि गठबन्धनको तर्फबाट अगाडि बढाइएको उम्मेदवार मानुषी यमी भट्टराई आफ्नो काम इमान्दार रुपमा पूरा गराउन सक्ने विशेष क्षमता व्यक्ति भएको धारणा व्यक्त गरे ।

काठमाडौँ–७ का मतदाता सचेत भएको भन्दै उनले नेवार समुदायको कोर एरिया भएकाले पनि परिवतर्नको लक्ष्य र चाहनालाई आत्मसात् गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो नेवार समुदायको कोर एरिया पनि हो । यहाँ अहिले जस्तो कम्बिनेशन देखिएको छ त्यो यहाँको जनताको भावना बुझ्ने र विकास र समृद्धिको यात्रा अघि बढाउने खालको छ भन्ने मैले बुझेको छु ।’

 

सम्बन्धित समाचार