नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ कार्तिक ।
नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप २ दिन थुनामा राख्न अनुमति दिएको छ । यसअघि थपिएको ४ दिनको म्याद सकिएपछि प्रहरीले आज (आइतबार) लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप २ दिन हिरासतमा राख्न म्याद दिएका हुन् । यसअघि उनलाई पहिलोपटक ७ दिन, दोस्रोपटक २७ असोजमा ५ दिन र तेस्रोपटक २ कार्तिकमा ४ दिन म्याद थप गरिएको थियो । गत असोज २० गते प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भएको भनेपछि अदालतले आज २ दिन म्याद दिएको थियो ।
यसअघि न्यायाधीश दाहालले आज प्रहरीलाई प्रतिवेदनसहित उपस्थित हुन भनेका थिए । लामिछाने विदेशमा नै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफू लामिछानेबाट बलात्कृत भएको प्रहरी समक्ष जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । आरोपित लामिछानेले भने आफू निर्दोष भएको बताइरहेका छन् ।