नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ कार्तिक ।
गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच भेटवार्ता भएको छ । आज (आइतबार) गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत थम्प्सनबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै भेटमा गृहमन्त्री खाँण ले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए ।
साथै उनले नेपालमा आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको बताए । सो अवसरमा राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। साथै उनले नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग रहने आश्वस्त पारेका थिए ।