अध्यक्ष लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो भनेपछि…

६ कार्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आज (आइतबार) पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको भन्दै आसन्न निर्वाचनमा एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी रहेको दाबी गरे । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने जिकिर गरे ।



‘यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन । यसपटक राप्रपाको चुनावी प्रतिष्पर्धा नेकपा एमालेसँग भएको छ । अरु पार्टीहरूको त हिसाबकिताब नै छैन । कांग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् ’ उनले भने । त्यस्तै उनले नेकपा एमालेको हाराहारीमा उम्मेदवारी प्रस्तुत गर्नसक्ने राप्रपा मात्र रहेको बताए । उनले भने, ‘हिजो हामी ४ सिटमा उम्मेदवारी उठाएर हिँडेका थियौँ, आज १४० सिटमा छ ।’ यस्तै उनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्याशित परिणाम आउने बताए ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश रिमालले नेपाली राजनीतिमा अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताउँदै आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार