नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ कार्तिक ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप अन्तर्गत सुपर १२ को समूह ‘एक’को खेलमा श्रीलंका विजयी भएको छ । आइतबार भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।
अष्ट्रेलियाको होबर्टमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४५ रन बनाए भने पल स्टर्लिङले ३४ रन जोडे । त्यस्तै जर्ज डकरेलले १४ र लोर्कन टुर्करले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । श्रीलंकाका लागि महेश थेक्सना र वानिन्दु हसरंगा डि सिल्भाले समान २-२ विकेट लिए भने विनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुणारत्ने र धनन्जय डि सिल्भाको भागमा समान १-१ विकेट रह्यो ।
१२९ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । श्रीलंकाको लागि कुशल मेन्डिसले अविजित रहँदै ६८ रनको अर्धशतकिय पारी खेले भने चरिथा असलंका ३१ रनमा अविजिर रहे । यस्तै धनन्जय डि सिल्भाले पनि ३१ रन बनाए । आयरल्याण्डका लागि गारेथ डिलेनीले १ विकेट लिए । जितसँगै श्रीलंका समूह एकको दोस्रो स्थानमा उक्लिएको छ भने आयरल्याण्ड भने पाँचौं स्थानमा रहेको छ ।