नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कार्तिक ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट परेका छन् । सोमबार वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए । भट्टराईले एउटा आधार र राजनीतिक लक्ष्यसहित गठबन्धन तयार भएकाले कुनै दुविधा राख्न नहुने बताए । विकासको नयाँ मोडल तयार पार्नुपर्छ भन्ने विषयमा गठबन्धनका बीचमा साझा सहमति रहेको जानकारी दिँदै उनले आर्थिक, सामाजिक र राजनीतिक विषयमा साझा मत समेत बनाइएको बताए ।
‘हाम्रो प्रतिवद्धता भनेको संस्थाहरुलाई बलियो बनाएर देशमा सुशासन प्रदान गर्ने हो । भ्रष्टाचार अन्त्य गर्ने हो । सबैभन्दा ठूलो कुरा अहिलेका युवाहरूमा बेरोजगारी छ, विदेश पलायनका जुन समस्या छन्, छिटो विकास र समृद्धिको जुन हाम्रो चाहना छ । त्यसको निम्ति पनि गठबन्धन दलको बीचमा विकासको नीति सम्बन्धी मोटामोटी समझदारी भएन भने काम गर्न सकिँदैन’ उनले भने ।
आफूहरु सहभागी रहेको गठबन्धन अग्रगामी र जनपक्षीय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले अर्को गठबन्धनको कुनै धरातल नरहेको स्पष्ट पारे । उनले अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको दाबी गरे ।
विकासको नयाँ मोडल तयार पार्नुपर्छ भन्ने विषयमा गठबन्धनका बीचमा साझा सहमति रहेको जानकारी दिँदै उनले आर्थिक, सामाजिक र राजनीतिक विषयमा साझा मत समेत बनाइएको बताए । अध्यक्ष भट्टराईले विगतका तीता मीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए ।