नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कार्तिक ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन गठबन्धन नबनेको बताएका छन् । सोमबार पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउवाले गठबन्धन लहडले नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । उनले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका छन् । देउवाले आफूलाई प्रधानमन्त्री बनाउने गठबन्धन नबनेको पनि दाबी गरे ।
उनले भने, ‘यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन । गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ ।’ प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालीन समय भएकाले आपसमा झगडा गर्न नहुने बताए । उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने बताए । उनले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताए ।
उनले गठबन्धनले जित्नुपर्छ भन्दै गठबन्धनका साथीहरूले एक भएर लागेर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । देउवाले गठबन्धनको र एकताको संस्कृति नेपाली राजनीतिमा रहेको बताए ।