नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ कार्तिक ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को समूह ‘दुई’ को खेलमा बंगलादेशविजयी भएको छ । सोमबार भएको खेलमा बंगलादेशले नेदरल्याण्ड्सलाई ९ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाको होबर्टमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।बंगलादेशका लागि आफिफ होसेनले ३८ रन बनाए भने नजमुल होसेन शान्तोले २५ रन जोडे । त्यस्तै मोसाडिक होसेन २० रनमा अविजित रहँदा सौम्य सरकारले १४ र नुरुल हसनले १३ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि बास डि लिडि र पल भान मिक्रनले समान २-२ विकेट लिए भने टिम प्रिनगिल, फ्रेड केलसन, शार्जिद अहमद र लोगन भान बिकको भागमा समान १-१ विकेट रह्यो ।
१४५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्याण्ड्स निर्धारित २० ओभरमा १३५ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कोलिन एकरमानले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै पल भान मिक्रमले २४ रन बनाई आउट भए भने कप्तान स्कट एडवार्डले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बंगलादेशका लागि टस्किन अहमदले समान ४-४ विकेट लिए भने हसन महुम्मदले २ विकेट लिँदा शकिब अल हसन र सौम्य सरकारको भागमा समान १-१ विकेट रह्यो । जितसँगै बंगलादेश १ खेलमा २ अंकका साथ समूह दुईको र्शीष स्थानमा उक्लिएको छ भने अंकविहिन नेदरल्याण्ड्स चौथों स्थानमा रहेको छ ।