नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ कार्तिक ।
नेकपा एमालेका नेता डा भीम रावलले निर्वाचन आयोगमाथि प्रश्न गरेका छन् । बुधबार एक ट्विट गर्दै उनले निर्वाचन आयोगमाथि प्रश्न गरेका हुन् ।
नेता रावलले ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’ भनि प्रश्न गरेका हुन् । आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले यस्तो टिप्पणी गरेका हुन् ।
त्यस्तै रावलले आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध रहेको बताएका छन् ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘‘नो नट अगेन’ आदि नाममा बनेका यस्ता फेसबुक पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो । ‘४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण श्रव्य दृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने र यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले जररी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रावलले ट्विटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’