न्युजिल्याण्डको दोस्रो जित

अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को समूह ‘एक’ को खेलमा न्युजिल्याण्ड विजयी भएको छ । शनिबार भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १०४ रनको शतकीय पारी खेले भने डाअर्य्ल मिचेलले २२ रन जोड्दा मिचेल स्यान्टनर ११ रनमा अविजित रहे । श्रीलंकाका लागि कसुन राजिथाले २ विकेट लिए भने महेश थिक्सना, धनन्जय डि सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराको भागमा समान १-१ विकेट रह्यो ।



१६८ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकाले १९ ओभर २ बलमा अलआउट हुँदै १०२ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान दासुन शनाकाले ३५ रन बनाए भने त्यस्तै भानुका राजापाक्षले ३४ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । न्युजिल्याण्डको लागि ट्रेन्ट बोल्टले ४ विकेट लिए भने मिचेल स्यान्टनरको भागमा २ विकेट रह्यो ।

प्रतियोगितामा न्युजिल्याण्डको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको न्युजिल्यान्डले दोस्रो खेलमा भने वर्षाका कारण अफगानिस्तानसँग अंक बाँड्नु परेको थियो । जितसँगै न्युजिल्याण्ड ३ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा छ भने २ अंक जोडेको श्रीलंका पाँचौं स्थानमा रहेको छ ।

 

 

सम्बन्धित समाचार