नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कार्तिक ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन नगर्ने सङ्कल्प गरेको छ । आगामी मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन नगर्ने सङ्कल्प गरेको हो ।
शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा रहेको घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । त्यस्तै चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरिएको छ भने कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ ।
कांग्रेसले आगामी प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी सङ्कल्प पत्रमा दुई–दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापित भई पाँच वर्षको कार्यकाल पूरा गरेको घटनाको स्मरण गरिएको छ । कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका र सङ्घर्षको कारणले नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरेको छ ।
संविधानको रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन बनाएको स्पष्ट पार्दै सर्वोच्च अदालतको फैसलाले संविधान, संवैधानिक सर्वोच्चता र संविधानवादको रक्षा गरेको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले लोकतन्त्र र संविधानको रक्षार्थ तथा राजनीतिक स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्नुपरेको जनाएको छ ।
कांग्रेसले चीन सरकारसँग हस्ताक्षर भएको बीआरआइअन्तर्गतका परियोजना राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा लागू गर्न प्रतिबद्ध रहेको जनाएको छ । कांग्रेसको चुनावी घोषणा पत्रमा ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । यसका लागि बिमाको दायरा बढाएर १० लाख पुर्याउने उल्लेख छ । घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रले सम्पूर्ण क्षेत्रका मानिसको माग सम्बोधन गरेको बताए ।’हामीले आम मानिसलाई केन्द्रमा राखेर घोषणापत्र बनाएका छौं । खेलाडी, अपांगता भएका, साहित्य, सिनेमा, कला क्षेत्रका सबैको प्रतिनिधित्व घोषणापत्रले गरेको छ’ महामन्त्री शर्माले भने ।
घोषणापत्र अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत कांग्रेस नेताहरुले लेखेका हुन् ।