नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।
अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।
अष्ट्रेलियाको पर्थमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।भारतका लागि सूर्यकुमार यादबले ६८ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले १५ रन बनाए । त्यस्तै विराट कोहलीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् । दक्षिण अफ्रिकाका लागि लुंगी एनजिडीले ४ विकेट लिएभने वायन पार्नेलको भागमा ३ विकेट रह्यो ।
१३४ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अविजित रहँदै ५६ रनको अर्धशतकीय पारी खेले भने एडिन मार्क्रमले पनि ५२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान टेम्बा बाभुमा १० रन जोडे । भारतका लागि अर्शदिप सिंहले २ विकेट लिँदा मोहमद शामी, रविचन्द्र आश्विन र हार्दिक पाण्डयको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै समूह २ को दक्षिण अफ्रिका ३ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने ४ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ । त्यसैगरी आइतबार नै भएको अन्य खेलमा बंगलादेशले जिम्बावेलाई ३ रनले र पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।