नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । आइतबार सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधीतत्वलाई परास्त गर्नकमा लागि सत्तारूढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने दाबी गरे । उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने बताए।
लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले गरिबी निवारण तथा बेरोजगारी समस्यालाई समाधान गर्नका लागि निर्वाचनपछि निर्माण हुने सरकारले ध्यान केन्द्रित गर्ने उल्लेख गरे ।
‘विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सिर्जनाका लागि आउने सरकारले योजनासहित अघि बढ्ने छ ।’ उनले भने । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश भएको जनाउदै सबैलाई सम्मान र सबै धर्म, भाषालाई सम्मान गर्ने जनप्रतिनिधि चयन गर्नका लागि उनले आग्रह गरे । झुटको पुलिन्दा बाँड्ने र सामाजिक सद्भाव बिगार्ने तत्वबाट सावधान रहनका लागि समेत मन्त्री कार्कीले आग्रह गरे ।