नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कार्तिक ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । बुधबार विराटनगर महानगरपालिकाको जनपथ चोकमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् ।
उनी मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनेमा मुलुकमा विकास हुने र बेथिति हट्ने दाबी गरे । उनले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने बताए ।
शिक्षा बिना समाज र राष्ट्र सभ्य हुन नसक्ने भएकाले कांग्रेसले शिक्षालाई उच्च प्राथमिकता राखेको उनले प्रष्ट पारे । उनले ‘कोखदेखि शोकसम्म’ कांग्रेसले योजना बनाई कार्यान्वय गर्ने उल्लेख गर्दै उनले गरिबलाई शोकमा रु १० हजारसम्म किरीया खर्च दिने बताए । कांग्रेसले सुत्केरी भत्तादेखि ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिने बताए ।