पाकिस्तानको सेमिफाइनल पुग्ने आशा जिवितै

अष्ट्रेलियामा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकालाई डीएल मेथडमा ३३ रनले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल पुग्ने आशा जिवितै राखेको हो ।

अष्ट्रेलियाको सिड्नीमा वर्षले प्रभावित भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । पाकिस्तानका लागि सादब खान र इफ्तिखर अहमदले अर्धशतकीय परी खेल्दै क्रमश: ५२ र ५१ रन बनाए । त्यस्तै मोहमद नवाज र मोहमद हरिसले समान २८-२८ रन जोडे । दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्कियाले ४ विकेट लिए ।



१८६ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिकाको पारीमा वर्षा भएपछि खेल १४ ओभरमा झरिदै दक्षिण अफ्रिकाले १४२ रनको नयाँ लक्ष्य पाएको थियो । तर दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । दक्षिण अफिकाका लागि कप्तान टेम्बा बाभुमाले ३६ रन बनाए भने एडिन मार्क्रमले २० रन जोडे । यस्तै ट्रिस्टान स्टुब्सले १८ रन बनाई आउट भए भने हेईनरिच क्लासेनले १५ रन जोडे । पाकिस्तानका शहिन शाह अफ्रिदीले ३ विकेट लिए भने सादब खानको भागमा २ विकेट रह्यो । जितसँगै समूह २ मा रहेको पाकिस्तान ४ खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा ५ अंक जोडेको दक्षिण अफिका दोस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार